img3

राजधानीको आर्मी अफिसर्स क्लबमा हालै गायक तथा नेपाली सेनामा कार्यरत टीका बोम्जनको एकल साँझ भव्य रुपमा सम्पन्न भएको छ । संगीत प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको एकल साँझ कार्यक्रमको प्रमुख अतिथिको कामु प्रधानसेनापति बलाधिकृत रथी पुर्णचन्द्र थापा रहेका थिए ।

कार्यक्रम संगीत संयोजक पवन वाङ लामा र चर्चित बाध्य बाधकहरुको साथमा गायक बोम्जनले आफ्ना विभिन्न गीतहरुको दर्शकमाझ सांगीतिक प्रस्तुति पस्केका थिए । कार्यक्रमका आकर्षक राष्ट्रिय ख्यातिप्राप्त गायक शिव परियार, इन्दिरा गोले, अनिल लामा, दुर्गा परियार, सुरेश लामा र भिमफेदी ग्याङ, र सन्चालक द्वय नरेश भट्टराई, शोभा त्रिपाठी लगायत रहेका थिए । सेवा भावले गरिएको उक्त कार्यक्रम मिर्गौला फेल भएका राजकुमार सुनारको सहयोगार्थ गरिएको हो । कार्यक्रममा एकल साँझबाट संकलित रु १ लाख रुपैयाँ सुनारलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमलाई भव्यरुपमा सफल पार्नहुने सम्पूर्णप्रति गायक बोम्जनले आभार प्रकट गरे । हजारौं संगीतप्रेमीहरुबीच आफ्नो सांगीतिक प्रस्तुति राख्न पाउँदा आफूलाई निकै गर्ब महसुश भएको गायक बोम्जनले बताए । कार्यक्रममा विगत लामो समयदेखि विभिन्न किसिमका अवार्ड आयोजना तथा सम्मा कार्यक्रमा गर्दै आएका सामाजिक अभियन्ता तथा बहुप्रतिभाशाली, एक्स्ट्रा अडिनरी रामबहादुर सुवेदी (आर.के.)लाई सम्मान गरिएको थियो । उनले युवावस्थादेखि नै दत्तचित्त भएर निःस्वार्थ भावनाले विशेषगरी नेपाली चलचित्रको गाउँ, शहर हुँदै अन्तर्राष्ट्रिय बजारसम्म विभिन्न फरक किसिमका लोकप्रिय कार्यक्रमा आयोजना गरेको प्रसंसा गर्दै सम्मान गरिएको हो । अवार्ड आयोजक सुवेदीले उडिरहेको हवाई जहाज, समुद्र मुनि, समुद्र माथि र विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा सफलतापूर्वक भव्य र सभ्य ऐतिहासिक रुपमा पटक–पटक अवार्ड आयोजना गरी गिनिज बुक अफ वल्र्ड रेकर्डसमा समेत नाम लेखाउन सफल भएकोमा उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ । सुवेदीसँगै कलाकार धनबहादुर बोम्जन (डीबी) लगायत विभिन्न सामाजिक अभियन्ताहरु सम्मानित भएका थिए । उनीहरुलाई प्रमुख अथिति तथा कामु प्रधानसेनापति बलाधिकृत रथी पुर्णचन्द्रको हातबाट खादा सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

गायक बोम्जन तत्कालीन माओवादी जनयुद्धमा दुबै हात गुमाएका कुशल गायक हुन् । नेपाली सेनामा कार्यरत हुँदा माओवादीले थापेको एम्बुसमा परी उनले हात गुमाएका हुन् । यस्तो अवस्थामा पनि उनी दत्तचित्त भएर निरन्तर सांगीतिक यात्रामा लागिपरेका छन् । आफै अशक्त भएता पनि मानसिक रुपमा उनी विचलित छैनन् । सामाजिक भाव राखेर उनले आफ्नो एकल साँझ भव्यरुपमा सफल बनाएका हुन् ।
देश र जनताको सेवा गर्ने अठोटले नेपाली सेनामा जागिरे बनेका बोम्जन १३ मंसिर २०५९ मा विद्युतीय धरापमा परे । २१ वर्षकै उमेरमा सधैँका लागि उनले दुवै हात गुमाए । ‘छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ६ महिना बसेर उपचार गराएँ,’ उनले जीवनका कहालीलाग्दा दिन सम्झिँदै भने, ‘अब त जीवन खत्तम भयो सोचेँ, मलाई डिप्रेसन नै भयो ।’ त्यसपछि उनले कलम छोडेनन् । गीत सिर्जनमा लागे । आफ्नै शब्दमा संगीत भरे । अनि निकाले ‘कस्तो भाग्य’ गीति एल्बम ।

बोम्जनले लेखेका, संगीत गरेका गीतमा चर्चित गायक–गायिकाले आवाज दिइसकेका छन् । करिब तीन सय गीत उनले रचना, गायन र संगीत गरेका छन् । ‘छाँगाबाट झरना झ¥यो’ कर्णदास २०६०, ‘मा¥यो मलाई मा¥यो’ ईश्वर अमात्य २०६०, ‘बार प्रिय बार, काँडे तारले बार’ अञ्जु पन्त, ‘मेरी सानु’ प्रमोद खरेल, ‘रोसी खोला’ शिव परियारलगायतले गाएका उनका चर्चित गीत हुन् । मुखले कलम च्यापेर सबैभन्दा बढी गीत लेखेका बोम्जन युथ फेडेरेसन युवा शान्ति दूत २०६०, युनिक वल्र्ड रेकर्डस्, एभरेस्ट आउटस्ट्यान्डिङ एचिभमेन्टस् र मिराकल अवार्डस् २०६८, उत्कृष्ट संगीतकार २०७१, हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड मलेसिया २०७४ जस्ता थुप्रै पुरस्कारबाट सम्मानित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *