काठमाडौं÷मस– कलाकार तथा निर्माता पुरन थापाले कान्छीमट्याङट्याङ पछि चलचित्र ‘पिरिम पर्या छन्’ बजारमा ल्याउँदैछन् । पुरन हास्य कलाकारको रुपमा टेलिचलचित्र तथा ठूलो पर्दाका चलचित्रमा स्थापित कलाकार पनि हुन् । उनी दर्शकलाई कलाकारिताको माध्यमबाट हास्य मनोरञ्जन दिन चाहन्छन् । सोही अनुरुप चलचित्रको नाम छनोटमा पनि उनी माहिर मानिन्छन् । उनले बनाएका चलचित्र नचलेपछि नामबाट पनि कतिपय दर्शकले सिनेमा हलसम्म पुग्ने वातावरण बनाउँछन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पिरिम पर्या छन्’का लागि उनको व्यस्तता बढेको छ ।
आगामी साउन २५ गते रिलिज हुने फिल्म ‘पिरिम पर्या छन्’को हालै ट्रेलर सार्वजनिक भएको छ । पुरन कै लेखन, निर्माण र निर्देशनमा बनेको कमेडी फ्लेबरको फिल्मको ट्रेलरमा नायकद्वय जयकिशन बस्नेत र दिलिप रायमाझी श्रीमति पीडित भएपछि ‘तरुनी’ खोज्न सहर पसेको कथावस्तुलाई निकै नै हास्य तवरले देखाइएको निर्माण पक्षले दाबी गरेको छ ।
ट्रेलरमा दिलिप रायमाझी, जयकिशन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, शोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा, सुरवीर पण्डितले फिचरिङ गरेका छन् । माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्ममा विमल ढकालको छायांकन, विकास चौधरी र विनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् । यसअघि कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ निर्माण गरेका पुरन ‘पिरिम पर्या छन्’ प्रदर्शनपछि अर्काे फिल्म ‘फेरि फेरि’ दर्शक माझ ल्याउने योजनामा छन् । ‘फेरि फेरि’ मा अर्पण थापा र ऋचा शर्मा मूख्य भूमिकामा छन् ।
