काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा धेरै संघ संस्थाहरु विधिवत रुपमा दर्ता भएका भए पनि उनीहरुका उद्देश्य र गतिविधि पृथक छन् । सबैले चलचित्र क्षेत्रको हक हितका विषयमा केन्द्रित रहेर काम गर्ने उद्देश्य राखेको भए पनि उनीहरुको कार्य व्यवहारतः लागू भएको देखिदैन र पाइँदैन । हालै एक अर्को नयाँ संस्था काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको छ । ग्लोबल एक्टर्स फेडेरेशन नाम रहेको उक्त संस्थाले समग्र नेपाली चलचित्र क्षेत्र हकहितका साथै नेपाल लगायत विदेशमा रहेका कलाकारहरुलाई समेत एकै थलोमा समेट्ने उद्देश्य राखेको छ ।

संस्थामा कलाकार, पत्रकार, निर्माता, निर्देशक, हल व्यवसायी, प्राविधिक, गायक, गायिका, संगीतकार, वुद्धिजिवी, उद्योगपति व्यापारी, सामाजिक अभियन्ता लगायतलाई समेटिनेछ । ‘एक घर, एक छाना र एक आगन’को नारासहित संस्थाले अभियान शुरु गरिसकेको छ । संस्थाले अहिलेसम्म कार्यसमिति चयन गरी ३ सय चलचित्रकर्मीहरुलाई सदस्यता प्रदान गरिसेको छ । त्यसमा पनि विशिष्ट सदस्य, आजिवन सदस्य, केन्द्रीय सदस्य, सक्रिय सदस्य र साधारण सदस्यता गरी विभिन्न क्षेत्रका ३ सय जनालाई समेटिएको संस्थाका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले जनाए । कार्यसमितिमा अध्यक्ष सुवेदी लगायत चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरु समेटिएका छन् । कार्यसमितिमा रहेको ती व्यक्तिहरुको नाम एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिने अध्यक्ष सुवेदीले बताए ।

विद्यमान चलचित्र तथा कलाकारिता बजारमा आपसी भाइचारा, मेलमिलाप, साथ र सहयोगको सहकार्यलाई विश्वभरी नै एकै मालामा उन्ने संस्थाको मुख्य उद्देश्य रहेको छ । पारदर्शी, दुरदर्शी र ईमानदारीताका साथ काम गर्दै अघि बढ्ने योजनासहित संस्थाले आर्थिक वर्ष २०७५÷७६ का मुख्य रोडम्यापहरुसमेत सार्वजनिक गरेको छ ।
पहिलो चरणको उद्घाटन समारोहमा सम्पूर्ण चलचित्रकर्मीहरुलाई एकै ठाउँमा संगठित गर्ने उद्देश्यका साथ दुई दशक भन्दा माथि योगदान दिने वरिष्ठ चलचित्रकर्मीहरुलाई विशिष्ट आजीवन सदस्यता वितरण गर्ने रहेको छ । बजारमा एक दशकदेखि सक्रिय चलचित्रकर्मीहरुलाई काठमाडांै केन्द्रको सदस्यमा आवद्ध गरिनेछ । त्यसैगरी नयाँ चलचित्रकर्मीहरुलाई सदस्य वितरण गरी आगमी वर्ष २०७५ असार मसान्त भित्र निर्माता, निर्देशक, हलव्यवसायी, प्राविधिक, वितरक, सञ्चारकर्मी, गायक–गायिका, मोडल, नाट्यकारलगायत सम्पूर्ण चलचित्रकर्मीहरुलाई एकै ठाउँमा संगठित गरी कम्तीमा पनि ३,००० श्रष्टाहरुलाई नवीकरण गर्न नपर्ने गरी आजीवन संस्थामा संगठित गरिने जनाइएको छ । सम्पूर्ण कलाकर्मीहरुको बायोडाटा संकलन गर्नुका किताब प्रकाशन गरी सरकारी, गैरसरकारी, स्कुल, कलेज तथा विभिन्न अफिस कार्यालय तथा व्यापार प्रयोजनमा पु¥याउने छ । त्यसैगरी, परराष्ट्र मन्त्रालय, सञ्चार मन्त्रालय, चलचित्र विकास वोर्ड, चलचित्र क्षेत्रका संघ संस्थाहरुसंग समन्यव गरी वास्तविक कलाकर्मीहरुलाई मात्र कलाकारीताको सिफारिस दिन विशेष जोड दिने तथा पहल कदमी गर्ने पनि संस्थाको उद्देश्य राखिएको छ ।

नेपाली कलाकारहरुले विदेशमा कार्यक्रम गर्दा आयोजकहरुले नेपालबाट हिड्नु अगाडि नै सम्पूर्ण आते, जाते, खाना बस्नको सम्पूर्ण व्यवस्थापनको ग्यारेन्टी कार्यक्रम अगाडी नै गर्नुपर्ने व्यवस्था मिलाउने समे जनाएको छ । यसका प्रमुख उद्देश्य भनेको विदेशमा गएर नेपाली कलाकारहरु नभागुन् र अलपत्र नपरुन् भन्ने रहेको छ । नेपाल सरकारको सूचना विभागबाट मान्यता प्राप्त ‘क’, ‘ख’, ‘ग’ छापा र विद्युतिय सञ्चार माध्यममा एकै पटक समाचार सम्प्रेशण गर्ने सर्भर राखिने तथा टेलिभिजनको साझाँको ८ः०० समाचारमा मनोरोञ्जन समाचारको लागि पहल गर्ने समेत संस्थाको योजना छ ।
संस्थाले व्यक्तिगत रिसइवीका कारण चलचित्र तथा कलाकर्मीहररुको कुनै पनि मिडियामा भ्रामक र चरित्र हत्या गर्ने कपोकल्पित भ्रामक समाचार सम्प्रेशण भएको उजुरी परेमा संस्थाले स्वयम् कानुनी मुद्धा लडि सहयोग गर्ने र पीडितलाई न्याय दिलाउने पहल कदमी गर्ने योजना पनि अघि सारेको छ । यस क्षेत्रमा लागेका कुनै पनि चलचित्रकर्मी तथा सदस्यहरुलाई भइपरिआउने समस्यलाई मध्यनजर गर्दै तीन महिना बढीमा छ महिनाको लागि पचास हजार देखि पाँच लाखसम्म विना कर्जा र व्याज तुरुन्तै ऋण उपलब्ध गराउने योजना समेत रहेको छ । यस क्षेत्रमा लागेका कलाकर्मी तथा सदस्यहरुको कुनै कारणबस मृत्यु भएको खण्डमा सम्पूर्ण आर्यघाटसम्मको खर्च समेत संस्थाले व्यहोर्ने योजना राखेको छ ।

त्यसैगरी संस्थाले विदेशका लगभग ६० देशहरुमा यसै वर्ष शाखा स्थापना गरी नेपाली चलचित्रको बजार बनाउन प्रदर्शन कमिटी गठन गरी एकै पटक नेपाली चलचित्र पनि विदेशमा प्रदर्शन गर्ने वातावरण बनाउने लक्ष्य राखेको छ । कोषमा आजीवन सदस्य, कार्य समिती सदस्य, सदस्य शुल्कबाट प्रारम्भिक बजेट तीन करोड पु¥याउने र आगमी पाँच वर्षे कार्यकालमा सात करोडदेखि दश करोडसम्म पु¥याउने संकल्प गरेको छ । त्यस्तै, उद्योग तथा व्यापारी प्रयोजन प्रचनात्मक विज्ञापनको लागि नेपाली चलचित्रका सकृय कलाकारहरुलाई अनिवार्य रुपमा रोजगार दिन उद्योगपति, विज्ञापन एजेन्सीसंग मिलेर पहल गर्ने योजनासहित चलचित्र क्षेत्रा उद्योगपति तथा व्यापारीहरुलाई लगानी गर्ने वातावरण बनाउनुका साथै उद्योगपतिहरुसंग बसेर यस विषयमा गम्भीर छलफल गर्ने योजना अघि सारिएको छ । त्यस्तै, सम्पूर्ण कम्पनीहरुलाई समयमै नविकरण र नेपाल सरकारलाई इमानदारपूर्वक कर तिर्न अपिल गर्ने योजना राखेको छ ।
सिनेमा हलमा सरसफायी तथा दर्शकहरुलाई सुविधा र सम्मानपूर्वक चलचित्र हेर्न जानको लागि वातावरण बनाउँने योजना पनि अघि सारिएको छ । अनावश्यक रुपमा आईरहेका हिट, सुपर हिट, करोड क्लवलगायत कलाकारको हावादारी पारिश्रमिक हल्लाको सत्य तथ्य सुचाना सम्प्रेशन गर्नको लागि ग्लोबल एक्टर्स साप्ताहिक छापा पत्रिका, युट्युव टिभि, अनलाईन पत्रिका र एक राष्ट्रिय टेलिभिजनमा आधा घण्टाको आफ्नै कार्यक्रम नै सञ्चालन गरिने उल्लेख गरिएको छ । संस्थाले हरेक वर्ष ग्लोवल मोशन पिक्चर्स् अवार्ड सञ्चालन गर्ने जनाएको छ । विदेश तथा उपत्यका बाहिरबाट केही दिनका लागि राजधानी आएका चलचित्रकर्मीहरुलाई संस्थाको होस्टेलमा निःशुल्क बस्ने व्यवस्था मिलाउने लगायतका वृहत योजना अघि सारिएको छ ।
