काठमाडौं– बक्स अफिस फिल्मी क्लब नेपाल, बक्स अफिस इन्टरनेशनल ग्रुपले नेपालले विश्वकप फुटबलमा सहभागिता जनाउन नसकेपनि अघिल्ला संस्करण झै रसिया संस्करण पनि नेपाली मैदानमा कलाकारको रमाइलो फूलबल आयोजना गरी भव्यरुपमा मनाएको छ ।

रसिया विश्वकप फुटबलको फाइनल खेल हुनु एक दिन अगाडि रसिया संस्करणलाई शनिबार राजधानीको अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा विभिन्न कलाकारको टोली मैदानमा उत्रिए । जम्मा ४ टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रदर्शनोम्मुख अवस्थामा रहेको नेपाली कथानाक चलचित्र सुदर्शन थापाको राम कहानी, सन्तोष सेनको चलचित्र मेरी मामु, आश्मा पाण्डेको चलचित्र ब्ल्याक, सौरभ चौधरीको चलचित्र लभ डायरिज्ले विश्वकप नेपालमै नामक कार्यक्रममा सहभागीता जनाएको थिए ।

फिफा नियममै खेलाइएको उक्त रमाइलो फुटबल प्रतियोगिताको पहिलो खेलमा रामकहानीका विरुद्ध लभ डायरिज मैदानमा उत्रिएको थियो । निर्देशक तथा निर्माता सौरभ चौधरीको कप्तानीमा मैदानमा उत्रिएको उक्त खेलमा लभ डायरिज चलचित्रले युवा निर्देशक सुदर्शन थापाको नेतृत्वमा मैदानमा उत्रिएको रामकहानी टोलीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । यसैगरी दोस्रो खेलमा निर्माता सन्तोष सेनको चलचित्रले आश्मा पाण्डेको चलचित्र ब्ल्याकलाई पनि ४–० गोल अन्तरले पन्छाउँदै लभ डायरिजसँगैको फाइनल भिडन्त पक्का गरेको थियो । त्यसैगरी फाइनलमा डायरिज चलचित्र र मेरी मामु टोलीबीचको भिडन्तमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर सिर्जना गरे पनि दुबै टोलीले १–१ गोल मात्र गरेका थिए । पेनाल्टी सुट आउटमा भने लभ डायरिज् चलचित्रले ४–३ गोल अन्तरले बाजी मार्दै विश्वकपको उपाधि चुम्यो ।

विजेत टोली लभ डायरिजले नगद रु ५१ हजार नगदसहित विश्वकपको ट्रफी र मेडल हात पा¥यो । त्यसैगरी दोस्रो स्थानमा चित्त बुझाएको मेरी मामु टोलीले २५ हजार नगदसहित मेडल ट्रफि र प्रमाणपत्र हात पारेको थियो । दुबै टोलीले आफूले पाएको पुरस्कारको राशि चलचित्र पत्रकार संघलाई उच्चस्तरीय एक थान कम्प्युटर सेट तथा एचआईभी एड्स पीडित बालबालिकाको सहयोगार्थ खाद्य सामग्री खरिदका लागि उक्त रकम खर्च गरेका थिए ।
फिफा विश्वकपमा सहभागी हुने सबै टोलीले पुरस्कार पाउने जस्तै यहाँ सहभागी हुने सबै टोलीलाई पनि पुरस्कारको व्यवस्था थियो ।

नगद पुरस्कार नभए चलचित्र रामकहानी टोलीलाई फिफा विश्वकपमा खेलाइएको फुटबल प्राप्त गरेको थियो । त्यसैगरी ब्ल्याक चलचित्रले पनि एक थान फुटबल प्राप्त गरेको थियो । प्रचार प्रसारका लागि मुख्य लक्षित गरेर आयोजना गरिएको उक्त प्रतियोगितामा आगामी भदौ १ गतेदेखि अल नेपाल रिलिज हुने आश्मा पाण्डेको चलचित्रबाट निर्देशक प्रदीप श्रेष्ठ, निर्मात्री आश्मा पाण्डे, नायिका आँचल शर्मा, नायक आकाश श्रेष्ठ, कलाकार सुन्दर श्रेष्ठ, धिरेन शाक्य, निर्माता चेतनकुमार पाण्डे, कमल मैनाली, महादेव त्रिपाठी, करण क्रेजी, रोशनी केशी, शितल केसी, सुभेच्छा थापा, डिबी बोम्जन, सम्राट बस्नेत, सन्जोग राना, उमा बेबी, सुनिल कटवाल, गोकुल सुवेदी, रमेश कुमार राई, समिर लामा, माधवराज खरेल, सुवाश लिम्बु, सुमन बुढाथोकी, जीवन शाही, अमृत थिङ, खिलबहादुर तामाङ, कुमार लामा, श्रीप्रसाद थापामगर, चेतनकुमार पाण्डे, आयूष रिजाल, राजकुमार गुरुङ लगायत ब्ल्याककै प्राविधिकहरुले पनि फुटबलमा सहभागिता जनाएका थिए ।
